९ पुस २०८२, बुधबार

मनाङमा महिला उम्मेदवार पाउनै मुस्किल

प्रकाशित मिति :  26 April, 2022 3:14 pm


मनाङ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ ।

संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ ।

मनाङमा जिल्लामा यस्तै भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न चाहने भने देखिँदैनन् ।

मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडामा आवश्यक सङ्ख्या पु¥याउनै मुस्किल भएको देखिन्छ ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको पाँच वटै वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिकाको पाँच वडामा दलितसहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए।

उनका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको मात्रै उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङमा कूल ५६ महिला सदस्यको सिट सुनिश्चित छ ।

नार्पाभूमिबाहेक अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।
मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ ।

यहाँ दलित महिला सदस्यसहित गरी कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ ।

उक्त गाउँपालिकामा पनि सुनिश्चित सिटले पूर्णता पाएको छैन । त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाको सिट सुनिश्चित भएपनि महिला सदस्यमा सात र दलित महिला सदस्यमा सातको मात्रै उम्मेदवारी दर्ता भएको कार्यालयले जनायो ।

त्यसैगरी नासों गाउँपालिकामा भने केही महिला सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र नेकपा ९एमाले०बाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

मनाङमा नेपाली कांग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०लगायतका दल दर्ता भएका छन् । चामे गाउँपालिका–३ मा भने एकीकृत समाजवादीको महिला सदस्यमा सर्वसम्मत भएको छ ।

मनाङमा महिला नेतृत्व वृद्धिका लागि राजनीतिक दलले ध्यान दिन नसकेको बताइन्छ । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखेपनि मनाङको हकमा भने पूरा भएको छैन ।

महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आउनुभएकी गुरुङ गत स्थानीय चुनावमा पनि प्रतिस्पर्धामा उत्रिनु भएको थियो । उनको एमालेका उम्मेदवार कान्छा घलेसँग प्रतिस्पर्धा हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस !