१२ श्रावण २०८१, शनिबार

कम्तीमा एक हप्तासम्म भारत नजान सुदूरपश्चिम प्रदेश सरकारको आग्रह

प्रकाशित मिति :  21 March, 2020 11:55 am


 

कैलाली,८ चैत । सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक हप्तासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको समितिले जनाएको छ । त्यस्तै बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा उपचारका लागि आवश्यकपर्ने पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिए । प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागि उच्च निगरानी कक्ष थप्ने निर्णय भएको जानकारी दिए।

प्रदेशका नौवटै जिल्लामा केही निगरानी कक्ष भए पनि कैलालीको धनगढी र महेन्द्रनगरमा थप केही निगरानी कक्ष अर्थात् आइसोलेसन वार्ड थप्ने तयारी भएको छ । त्यसै भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखलाई सीमानाका आवातजावतमा कडाइ गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारले आवश्यक रकमको व्यवस्था गर्ने बताए।



प्रतिक्रिया दिनुहोस !