अन्य दलसँग तालमेल गरेको भए खारेज गर्ने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौं । सत्तारुढ गबन्धनभित्रका दलले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल गरेको भए खारेज गर्ने निर्णय गरेको छ ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकले गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तामेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको हो ।
यस्तै ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उमेद्वारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय समेत गरेको छ । साथै गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उमेद्वारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने सहमति भएको छ ।
६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँड समझदारी गर्ने भनिएको छ । बैठक पछि जारी विज्ञप्तिमा नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धनका दलहरुका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाटा दर्ता भएका उमेद्वारीहरु फिर्ता गर्ने’ भनिएको छ ।
गठबन्धनका दलहरूकाबीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका,गाउँपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने र त्यसका निमित्त स्थानीय,जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने विज्ञप्तिमा उल्लेख छ ।








