स्याङ्जामा पाँच सय सात जनाका लागि एक हजार ५४७ को उम्मेदवारी दर्ता
स्याङ्जा । स्थानीय तहको निर्वाचनको लागि स्याङ्जामा एक हजार ५४७ को उम्मेदवारी दर्ता भएको छ । ११ पालिका रहेको स्याङ्जामा ५०७ जनाका लागि एक हजार ५४७ को उम्मेदवारी दर्ता भएको हो ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार पालिका प्रमुखमा ६७ जना, उपप्रमुखमा ५० जना, वडाध्यक्षमा ३५२ जना, खुला सदस्यमा ५८० जना, महिला सदस्यमा २६५ जना र दलित महिला सदस्यमा २३५ जना गरी एक हजार ५४७ को उम्मेदवारी दर्ता भएको हो ।
त्यसैगरि ११ पालिका मध्ये नगरपालिकातर्फबाट भीरकोट नगरपालिकामा १४७ जना , चापाकोट नगरपालिकामा १८७ जना, वालिङ नगरपालिकामा २५२ जना, गल्याङ नगरपालिकामा १६८ जना, र पुतलीबजार नगरपालिकामा २७० जनाको उम्मेदवारी दर्ता गरेको छ भने गाउँपालिकातर्फ बिरुवा गाउँपालिकामा १२० जना, आँधीखोला गाउँपालिकामा ९४ जना, अर्जुनचौपारी गाउँपालिकामा ८४ जना, हरिनास गाउँपालिकामा ८३ जना, कालीगण्डकी गाउँपालिकामा ७८ जना, फेदीखोला गाउँपालिकामा ७४जनाले उम्मेदवारी दर्ता गराएको अधिकृत पौडेलले जानकारी दिए ।
पालिकाको प्रमुखमा सबैभन्दा धेरै पुतलीबजार र गल्याङ नगरपालिकामा नौ नौ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा थोरै विरुवा र हरिनास गाउँपालिकामा चार चार जना रहेका छन् ।
उपप्रमुखमा पुतलीबजार र गल्याङ नगरपालिकामा सातसात जना छन् भने थोरै हरिनास र कालीगण्डकी गाउँपालिकमा दुई दुई जना रहेका छन् । त्यस्तै वडाध्यक्षमा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ६० जना र थोरै कालीगण्डकी गाउँपालिकामा १५ जना रहेका छन् । खुला सदस्यमा सबैभन्दा धेरै पुतलीबजारमा १०३ जना र थोरै फेदीखोला गाउँपालिकामा २६ जना रहेका छन् ।








