उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की नदिन निर्वाचन आयोगको आग्रह
काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराएका उम्मेदवाहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की नदिन निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ ।
उम्मेदवार वा तिनका परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वैशाख १६ गते उम्मेदवारीको नाम फिर्ता लिने कार्यक्रम रहेको सन्दर्भमा कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरी उम्मेदवारको नामवली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुशीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुने सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।








