थबाङमा माओवादी केन्द्र विरुद्ध कांग्रेस,एमाले र नेकपाको गठबन्धन
उमा केसी–
रोल्पा । स्थानीय तहकाे चुनावका लागि रोल्पाको थबाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ ।
आज बेलुकी उम्मेदवारी फिर्ता लिने समयसम्म कांग्रेस र एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएकाले मनोनयन फिर्ता लिएका छन् । केन्द्रबाट सत्ता गठबन्धनभन्दा बाहिर चुनावी गठबन्धन नगर्न निर्देशन दिएपनि रोल्पामा भने कांग्रेस,एमाले र नेकपाको गठबन्धन बनेको छ ।
नेपाली कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले लुम्बिनी सञ्चारसँग संक्षिप्त कुरा गर्दै भने, “हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्यौं।”
नेपाली कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् ।
नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती,अजय घर्ती , दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने,“दर्जित जीलाई हाम्रो समर्थन हो, उहाँको नाममा सबैको सहमति बनेको छ ।”
२०७४ सालको स्थानीय तहकाे चुनावमा थबाङ गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो । यस पटक माओवादी केन्द्रका विरुद्ध नेपाली कांग्रेस, एमाले र नेकपा एक ठाउँमा अभिएका छन् ।
रोल्पामा उम्मेदवारी दिएका मध्ये ११४ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा १ जना नगरपालिका प्रमुख, १६ जना गाउँपालिका प्रमुख लगायत रहेका छन् ।








