९ पुस २०८२, बुधबार

निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति नेता पुनको आपत्ति

प्रकाशित मिति :  1 May, 2022 4:23 pm


फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

श्रमिक दिवसरको अवसरमा भएको कार्यक्रममा बोल्दै नेता पुनले प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रमुख आयुक्त थपलियाले ‘यसपटकको मतपत्र बलियो रहेको र सजिलै चपाउन वा च्यात्न नसकिने’ बताएका थिए ।

२०७४ सालको चुनावमा भरतपुर महानगरपालिकामा मतगणना अन्तिमतिर पुग्न लाग्दा माओवादी कार्यकर्ताले मतपत्र चपाएका थिए ।

नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले चुनाव जित्न लागेको अवस्था मतपत्र चपाईएको आरोप लागेको थियो । पछि मतपरिणाम रेणु दाहालको पक्षमा गएको थियो । प्रमुख आयुक्त थपलियाले उक्त घटनालाई नै इंगित गरेको हुन सक्ने आकलनसहित नेता पुनले आपत्ति जनाएका हुन् ।

उनले भने,“अत्यन्त दुःखका साथ मैले भन्नुपर्छ, निर्वाचन आयोगका प्रमुख आयुक्त ज्यूले हामीले मतपत्र बलियो कागजमा छापेका छौं,अब चपाउन,च्यात्न सकिदैन भन्नुभयो, यै कुरो केपी ओली जीले बोली राख्नुभा‘छ । केपी ओली जीको बोली र निर्वाचन आयोगका प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ ।”

निर्वाचन आयोग रेफ्रीको भूमिकामा रहेको भन्दै नेता पुनले रेफ्री आफै मैदानमा उत्रेर खेल खेल्न थाल्यो,गोल हान्न थाल्यो भने त्यो खेल कस्तो हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

उनले भने,“म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईंहरू आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले, आम जनताले देख्ने,मतदाताले देख्ने गरि रेफ्रीको भूमिकामा बस्नुस् ।”

निर्वाचन आयोगप्रति आफूहरूको विश्वास भएपनि यस्ता बोलीहरूप्रति आपत्ति रहेको उनको भनाई छ । नेता पुनले भने,“कुनै नेता विशेष पार्टी विशेषको बोली चाहीँ कुनै निर्वाचन आयोगले बोल्न मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस !