८ पुस २०८२, मंगलबार

१९ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  2 May, 2022 11:57 am


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १९ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले भोलि वैशाख २० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ, यो ट्रेजरी बिल आउँदो जेठ १७ गते परिपक्व हुनेछ।
त्यस्तै केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो साउन १७ गते परिपक्व हुनेछ ।

यसैगरी बैंकले १८२ का लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले २०८० वैशाख १९ गते परिवक्व हुने गरी ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ ।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था सहित सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ।



प्रतिक्रिया दिनुहोस !