संसोधनसहित मार्जिन कारोबार सुविधा कार्यान्वयनमा, ब्रोकरले लगानीकर्ताको अनुमतिबिना सेयर बेच्न पाउने
काठमाडौं । सेयर ब्रोकरहरुले अब लगानीकर्ताको अनुमतिबिना पनि सेयरहरु बिक्री गर्न पाउने भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संसोधन) २०७७ लागु गरेसँगै सेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा सेयर बिक्री गर्न सक्ने व्यवस्था गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधि (प्रथम संसोधन) २०७७ लागु गरिएको जनाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेप्सेले उक्त कार्यविधि लागू गरेको हो ।
कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनु पर्नेछ ।
तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।
मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशतभन्दा कम हुन आएमा दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नसक्ने व्यवस्था गरिएको छ ।
मार्जिन कल गरेको दोश्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबारयोग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्नुपर्नेछ।
मार्जिन कल गरेको तेश्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि नपुर्याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन २० प्रतिशतभन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो दिनमा वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्नसक्ने व्यवस्था गरिएको हो।












