९ पुस २०८२, बुधबार

रोल्पामा निर्वाचनका लागि १३ ठाउँमा सेनाको क्याम्प,२ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

प्रकाशित मिति :  2 May, 2022 6:50 pm


उमा केसी

रोल्पा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि रोल्पामा नेपाली सेनाले १३ ठाउँमा क्याम्प स्थापना गरेको छ भने २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाली सेनाको बटुक दल गण लिबाङका गणपति प्रमुख सेनानी मणि थापाले स्थानीय निर्वाचनका लागि १३ ठाउँमा क्याम्प स्थापना गरेर सबै सुरक्षा तयारी गरिएको जानकारी दिए ।

उनले लुम्बिनी सञ्चारसँग भने,“हामीले सबै मतदान स्थलको सुरक्षा अवस्थाबारे अध्ययन गरिसकेका छौं, अहिले नियमित पेट्रोलिङ गर्ने र थप सुरक्षा अवस्थाबारे जानकारी लिनेक्रम चलिरहेको छ ।”

प्रमुख सेनानी थापाका अनुसार माडीचौर,खुमेल,सुलीचौर,पोबाङ, थबाङ, परिवर्तन गाउँपालिका, गंगादेवको सुख्खा ओडार,त्रिवेणीको जुगार, दहवन,उघालगायतका ठाउँमा निर्वाचन सुरक्षाका लागि सेनाको क्याम्प स्थापना गरिएको छ । प्रमुख सेनानी थापाले रोल्पामा बम डिस्पोजलको टोलीपनि आएको जानकारी दिए ।

रोल्पामा ४५० जना नेपाली सेना,४९९ नेपाल प्रहरी,३११ सशस्त्र प्रहरी र ८३३ जना म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ गतेदेखि नै सुरक्षा निकाय परिचालन भएको बताए ।

रोल्पामा ७१ हजार ९ सय ३४ जना पुरुष र ७३हजार ५ सय १० महिला गरेर १ लाख ४५ हजार ४ सय ४४ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिइन् । रोल्पामा स्वतन्त्रसहित १,१३० जना उम्मेदवार चुनावी मैदानमा छन् ।



प्रतिक्रिया दिनुहोस !