आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु
ललिपुर । आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा शरु हुँदैछ । मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट तान्न सुरु गरिनेछ । ललितपुरमा मनाइने जात्रामध्ये रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ । यो रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ ।
रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने चलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर मिठा परिकार खुवाएर जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।
रथयात्राले गर्दा ललितपुर जिल्लामा चल्ने सवारी साधन चलाउन अवरोध हुने गरेको छ । रथयात्राको पहिलो दिन थापाथली हुँदै ललितपुरको हात्तीवनसम्म चल्ने सवारी साधनलाई असर पार्ने गरेको छ ।
रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।








