९ पुस २०८२, बुधबार

रोल्पा सुनिलस्मृतिमा कांग्रेसको घोषणापत्र : क्याम्पस सञ्चालनदेखि एकल पुरुषलाई भत्तासम्म

प्रकाशित मिति :  4 May, 2022 4:52 pm


रोल्पा । नेपाली कांग्रेस सुनिलस्मृति गाउँपालिकाले आफ्नो चुनावी घोषणा पत्रमा पालिकावासीलाई चर्को करबाट मुक्त गर्ने र असाय एकल पुरुषलाई भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

यही वैशाख ३० गते हुने चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कांग्रेसले एकल असहाय पुरुषलाई भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको हो ।

किसानहरूलाई आधुनिक कृषि प्रणालीलाई सम्पूर्ण व्यवस्थापन गर्ने, पालिकालाई खाद्यान्न,तरकारी,दूध र मासुमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनको प्याकेज कार्यक्रम ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै युवाहरूलाई वैदेशिक रोजगारीबाट घर फर्किने वातावरण बनाई सीपमूलक व्यवसाय निर्माण गरी आयआर्जनको ढोका खोल्ने, पालिकामा हुने अवसरहरूमा राजनीतिक विभेद अन्त्य गर्ने, साहित्य,संगीत,कला र खेलकूदका माध्यमबाट स्थानीय सरकारको पहिचान दिने पनि घोषणा पत्रमा उल्लेख छ ।

सुनिलस्मृति गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार गञ्ज क्षेत्री र उपाध्यक्षमा तेजकुमारी विष्ट छन् । क्षेत्री यसअघि सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष थिए । यसपटकको पालिका चुनावी घोषणा पत्रमा क्षेत्री वडाअध्यक्ष हुँदा गरेका लोकप्रिय कार्यक्रम पनि समावेश गरिएका छन् ।

घोषण पत्रमा पालिकाभर विद्युत सेवा निःशुल्क बनाउने, सार्वजनिक जग्गामा अस्थायी बसोवास गरेका भूमिहीन तथा सुकुम्बासीहरूका लागि जग्गाधनी पूर्जा उपलब्ध गराउन पहल गर्ने, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका धार्मिक,सांस्कति,ऐतिहासिक,पुरातात्विक सम्पदाको माध्यमबाट पर्यटनको विकास गरी युवाहरूलाई रोजगारी दिने उल्लेख छ ।

माध्यामिक तहसम्मको शिक्षा निशुल्क गर्ने र गाउँपालिकामा एक आंगिक क्याम्पस सञ्चलान गर्ने तथा जनप्रतिनिधिहरुलाई दिने तलब भत्ता विपन्न वर्गको उत्थानमा लगाउने प्रतिबद्धता घोषणा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !