आर्थिक वृद्धिदर ६ प्रतिशत माथि जान्छ : आर्थिक सल्लाहकार अर्थमन्त्रालय
काठमाडौं । अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतिले आर्थिक वृद्धिदर ६ प्रतिशत वा त्यो भन्दा माथि जाने अपेक्षा लिएको बताएका छन् । प्रतिस्थापन बजेट कार्यन्वयन र आगामी बजेटका प्राथमिकता विषयक अन्र्तक्रिया कार्यक्रममा डा. उप्रेतीले अहिलेको अर्थतन्त्रमा देखिएको तिव्रताले उत्साहित बनाएकोले अहिले अनुमान गरेको वृद्धिदरमा सम्झौता गर्नुपर्ने अवस्था नआउने बताए ।
बेमौसी वर्षाका कारण पनि आर्थिक वृद्धिमा समस्या देखिएको उनले बताएका हुन् । विश्व बैंक, एसियाली विकास बैंकले ४ प्रतिशत र केन्द्रिय तथ्यांक विभागले ५.८४ आर्थिक वृद्धि हुने बताउँदै आएको छ । तर अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकारले भने ६ प्रतिशत माथि जाने बताएका हुन् ।
डा. उप्रेतीले संरचनागत समस्याका कारण पहिला कृषिजन्य सामग्री निर्यात गर्ने देश अहिले आयातमा भर पर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् । उनले भने, “हामीले जुन अपेक्षा अनुसार खुला उदार अर्थनीति सुरु गरेको थियौ सुरु गरेको ३ दशक भएको छ त्यो उत्साहजनक छैन । त्यसमा संरचनागत समस्या छ परिवर्तन गर्नुपर्छ । त्यहि समस्याको कारण पहिला निर्यात गर्ने देश अहिले आयातमा भर पुर्नपरेको छ ।” उनले कृषि क्षेत्रलाई जोड दिनुपर्ने बताएका छन् । आयात प्रतिस्थापन हुने र जिडीपीमा सहयोग पुग्ने कारण भएकोले कृषिमा जोड दिनुपर्ने उनले बताएका हुन् ।
डा. उप्रेतीले कोभिडपछि कच्चा पदार्थको आयात बढेकोले विदेशी मुद्रा सञ्चितीमा केहि समस्या देखिएको बताए । उनले भने, “कच्चा पदार्थ आयातमामात्र ५३ प्रतिशत कर्जा प्रवाह भएको छ । कच्चा पदार्थ पहिलेको भन्दा धेरै आयात भएको र समस्या भएको हो ।”








