९ पुस २०८२, बुधबार

रोल्पामा सत्तारुढ दलका कार्यकर्ताबीच नै झडप

प्रकाशित मिति :  12 May, 2022 8:36 am


उमा केसी
राेल्पा । मतदानको दिन नजिकिदै जाँदा रोल्पामा सत्तारुढ दल नेपाली काँग्रेसका कार्यकर्ता माथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताको श्रृंखलावद्ध आक्रमण गरेको आरोप लागेको छ ।

२०७९ वैशाख २१ गते माडी गाउँपालिका वडा नंं ३ मा वडाध्यक्षका उम्मेदवार नीमवहादुर डाँगी माथि रड प्रहरी गरि सांघातिक आक्रमण भएको थियो । गम्भीर घाईते डाँगीको अहिलेपनि उपचार भई रहेको छ ।

वैशाख २६ गते गंगादेव गाउँपालिकामा अर्को आक्रमण भएको नेपाली कांग्रेसले जनाएको छ । आक्रमणमा नेपाली काँग्रेसका मनबहादुर बुढामगर र कमल बुढामगर घाईते भएका छन । उनीहरूको नेपालगंज मेडिकल कलेजमा उपचारभई रहेको नेपाली काँग्रेस रोल्पाले जानकारी दिएको छ ।

यसैगरि वैशाख २६ गते राती ११ वजे सुनिलस्मृती गाउँपालिका ८ अरेशमा नेपाली काँग्रेसका कार्यकर्ता मनवहादुर पुनलाई सांघातिक आक्रमण गरेर गम्भीर घाईते बनाएकापछि बुटवलमा उपचार भईरहेको काँग्रेस रोल्पाले वताएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नंं ३ को मसिना,परिवर्तन गाउँपालिका वडा नं. १ कुरेली र वडा नं. २ को रांसीमा समेत आफ्ना कार्यकर्तमाथि आक्रमण भएको काँग्रेस रोल्पाको भनाई छ ।

माओवादी केन्द्रले आफ्ना नेता कार्यकर्तामाथि लागातार आक्रमण गरेको भन्दै नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले आपत्ति जनाए उनले प्रशासनले समेत वेवास्था गरेको आरोप लगाए । उनले भने,“लोकतान्त्रिक अभ्यासको रुपमा रहेको निर्वाचनमा अरुको अस्तित्व स्वीकार गर्न नसकी गरिएका यस्ता पासविक र जंगली रुपका अमानवीय घटनाको स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा समेत प्रशासन मुग्दर्शक भएको छ ।”

घटनामा संलग्नहरूको किटानी उजुरी दिँदा पनि प्रहरीले उजुरी लिन नमानेको सभापति आचार्यको दाबी छ । घटनामा संलग्न व्यक्तिहरूलाई हालसम्म पनि पक्राउ नगर्नुले स्थानीय प्रशासनको व्यवहार प्रति आशंका उत्पन्न भएको सभापति आचार्यको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले भने निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कुनै कसर वाँकी नराखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले घटना घट्नै नदिन र घटना घटे संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउने काम भईरहेको दाबी गरे । “रितपूर्वक आएका यस्ता निवेदन दर्ता गरि कारबाही प्रकृया अगाडी बढाएका छौँ” घिमिरेले भने ।

हालसम्म गंगादेव गाउँपालिकामा भएको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको उनको भनाई छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेत गठबन्धन सरकार छ । स्थानीय चुनावमा पनि गठबन्धन गरेर केन्द्रमा जाने सहमति छ । रोल्पामा भने माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल छैन ।



प्रतिक्रिया दिनुहोस !