नेकपा(बहुमत)का संयोजक बास्तोला रिहा,सुरक्षाका लागि प्रहरी खटाइयो
काठमाडौं । नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन् । विप्लव नेतृत्व नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक प्रकाश शाहीको जिम्मा बास्तोलालाई छोडिएको हो ।
बास्तोलालाई इलाका प्रहरी कार्यालय भालुवाङ दाङले आज बिहान ४ बजेतिर बास्तोलासहित ३ जनालाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो । बास्तोला पोखराबाट सुर्खेत तर्फ जाँदै थिए ।
विप्लव नेतृत्वको नेकपाबाट असन्तुष्ट बनेपछि यही वैशाख २१ देखि २३ सम्म चितवनमा राष्ट्रिय भेला बोलाएर बास्तोला र हेमन्तप्रकाश वलीले नेपाल कम्युनिस्ट पार्टी(बहुमत) गठन गरेका थिए । बास्तोला सोही पार्टीका संयोजक छन् ।
नेकपाले चुनावलाई उपयोग गर्ने नीति लिएको भन्दै बास्तोला र वलीले नेकपा बहुमत गठन गरेका थिए । चुनाव बहिष्कारको प्रशंग आएपछि बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हुनसक्ने आँकलन छ । यद्यपी प्रहरीले सोधपुछका लागि राखिएको र सकुशल छोडिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङले बास्तोलाको सुरक्षाका लागि भन्दै एक जना प्रहरी खटाएको छ । उनको सुरक्षाका लागि प्रहरी जवान मधुसुदन यादवलाई अंगरक्षकको रुपमा खटाइएको प्रहरीले जनाएको छ ।








