स्याङ्जामा निर्वाचन सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी परिचालन
स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जा जिल्लाको सुरक्षा व्यावस्थालाई प्रभावकारी बनाउन ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडलले जानकारी दिका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडलले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ३ हजार २ सय ८२ सुरक्षकर्मी परिचालन गरिएको बताए ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी ९ सय ६०, म्यादी प्रहरी १ हजार ६ सय २४, शसस्त्र प्रहरी ३ सय ३७, नेपाली सेना ३ सय ४७ र राष्ट्रिय अनुसन्धानका १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पौडलले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्र गर्नका लागि वालिङ र स्याङ्जा सदरमुकाममा रिजर्व फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने जानकारी दिए ।
निर्वाचन प्रचारप्रसारका क्रममा भएका राजनीतिक मनमुटाव र झडपका घटना र संलग्न व्यक्तिहरूमाथि छानबिन एवं अनुसन्धान भैरहेको र केही दोषी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पौडेलले बताए ।








