थबाङ गाउँपालिकाको तेलखोलामा झडपपछि १० जना सम्पर्कविहीन,थप प्रहरी पठाइयो
उमा केसी –
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका अन्तर्गत उवामा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि आफ्ना १० जना कार्यकर्ता सम्पर्कबिहीन भएकाे गठबन्धन पक्षले दाबी गरेकाे छ ।
उवाको तेलखोलामा भएको तनाव त्यहाँ खटिएका प्रहरीले नियन्त्रण गर्न नसकेपछि थप प्रहरी पठाइएको छ । थबाङमा नेपाली कांग्रेस,नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन छ भने अर्कोतिर माओवादी केन्द्र रहेको छ ।
गठबन्धनबाट थबाङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका दर्जित रोकामगरले बेलुकी झडप भएको बताए । राेकाले भने,“ १० जना साथीहरूलाइ अपहरण गरेर लगेकाे भन्ने भन्ने आएको छ, त्यहाँ एमालेका साथीहरु हुनुहुन्छ ।” उनले थप भने,“त्यहाँ पहिलेदेखि नै तनाव हुने जस्तो थियो, हामीले सुरक्षाकर्मीलाई सचेत पनि बनाएका थियौं अब त्यहाँको अहिले खटिएको प्रहरीले नियन्त्रण गर्न सम्भव छैन ।”
उनले थप प्रहरी परिचालन नगरे आफूहरू जाने र परिस्थिति जटिल बन्न सक्ने चेतावनी दिए । यद्यपी रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले थप सुरक्षाकर्मी खटाइएको जानकारी दिएका छन् ।
घटनाबारे प्रष्ट विवरण भने आउन सकेको छैन ।
रोकाले भने,“नेटवर्कले काम गरेको छैन स्थिति तनावपूर्ण छ भनिएको छ तर प्रष्ट जानकारी आएको छैन ।”








