९ पुस २०८२, बुधबार

मतगणना छिटो गराउन जनशक्ति र बजेटमा सहजीकरण गर्दै आयोग

प्रकाशित मिति :  16 May, 2022 10:52 pm


काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणना कार्यलाई छिटो सम्पन्न गराउन निर्वाचन आयोगले आवश्यक जनशक्ति र बजेटको प्रबन्धमा तदारुकता देखाएको छ । मतपत्रमा ६४ लहरसम्मका निर्वाचन चिह्न रहनु, सहरी क्षेत्रका अधिक मतदाता भएका स्थानीय तहमा स्वाभाविकरूपमा धेरै समय गणनामा लाग्ने तथा गणनामा सानातिना विषयमा विवाद झिक्ने प्रवृत्ति देखिएपछि आयोगले चासो दिएको हो ।

मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यकरूपमा उचाली विवादको विषय बनाई मतगणना कार्य नरोक्न, हूलहुज्जत नगर्न, नाराबाजी नगर्न र समग्र मतगणना कार्यलाई ढिलाइ नगर्न आयोगले आग्रह गरिसकेको छ ।

गणनामा देखिएको ढिलाइ र समाधानका उपायहरु बुझ्न आज आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुले विभिन्न महानगरपालिकासहित स्थानीय तहका मतगणनास्थलमा अवलोकन-निरीक्षण गरी स्थलगत निर्देशन पनि दिएका छन् ।

प्रमुख आयुक्त थपलिया सोमबार मोरङको विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिका, सुन्दरहरैचा नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिका, दुहवी नगरपालिका र गढी गाउँपालिकामा गणना कार्यमा पुगेका थिए ।

अवलोकनका क्रममा प्रमुख आयुक्त थपलियाले त्यहाँस्थित राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, कर्मचारी, सञ्चारकर्मीलगायतसँग परामर्श गरी गणना कार्य छिटो गराउन सबैतिरबाट आएको सुझाव ग्रहण गर्दै सोबमोजिम छिटो गर्न/गराउन निर्देशन दिएका थिए । उनले आयोगका तर्फबाट जनशक्ति र वित्तीय प्रबन्धका लागि कुनै कमी हुन नदिइने भएकाले जेठ ५ गते अगावै मतदान सम्पन्न गराउन आग्रह गरेका थिए। प्रमुख आयुक्तको निर्देशनबमोजिम मोरङ र सुनसरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट समूहगतरूपमा आवश्यक जनशक्ति खटाई छिटो गणना सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता प्राप्त भएको थियो ।

भ्रमणकै क्रममा गत वैशाख ३० गते रातिदेखि सुरु भई बीचमा विवादका कारण गणना स्थगित भएको रङ्गेली नगरपालिकामा प्रमुख आयुक्त थपलियाकै उपस्थितिमा दल र प्रतिनिधिसमेतसँग छलफल गरी सोमबार ५ बजेदेखि गणना पुनः सञ्चालन गराइएको थियो । जारी मतगणना कार्यमा देखिएको ढिलाइ र समाधानका उपायहरुको खोजीका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारी आज काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाको मत गणनास्थल क्रमशः प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र ललितपुर महानगरको प्रशासकीय भवनमा पुगेका थिए ।

आयोगका सचिव गोकर्णमणि दुवाडीसहित गएका आयुक्त भण्डारीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सम्बद्ध पक्षसँग छलफल गरी गणनास्थल बढाउन आग्रह गर्दै आयोगका तर्फबाट जनशक्ति र वित्तिय प्रबन्ध गरिने विश्वास व्यक्त गरेका थिए।

आयोगले मतगणना कार्यमा खटिएका कर्मचारीले पदीय जिम्मेवारी तथा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई दृष्टिगत गरी राम्रोसँग मतगणना निर्देशिका (संशोधन सहित) को अध्ययन गरी मतगणना कार्य छिटोभन्दा छिटो सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि व्यवस्थित र अनुशासित भएर छिटो सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थितरूपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न आयोगले आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस !