७ बैशाख २०८१, शुक्रबार

साढे ५ लाख शय्याका क्वारेन्टाइन बनाइने

प्रकाशित मिति :  23 March, 2020 10:12 am


काठमाडौँ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर करिब साढे ५ लाख शय्याका सार्वजनिक क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा रहेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले आइतबार संघ, प्रदेश र स्थानीयले अनिवार्य रूपमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने प्रस्ताव तयार पारेको हो । कान्तिपुर दैनिकमा मात्रिका दाहालले समाचार लेखेका छन् ।

उपत्यकामा संघीय सरकारले कम्तीमा ५ हजार, प्रत्येक प्रदेश र महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १/१ हजार, नगरपालिका र गाउँपालिकाले ५ सयदेखि १ हजार शय्याका क्वारेन्टाइन निर्माण गर्नुपर्ने कार्यदलको प्रस्ताव छ । कतिपय क्वारेन्टाइनलाई आवश्यक पर्दा अस्पतालका रूपमा समेत प्रयोग गर्न मिल्ने गरी संरचना बनाउनुपर्नेछ ।

कार्यदलले काठमाडौंको इचंगुनारायण र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरमा क्वारेन्टाइन निर्माण गर्न सकिने भन्दै त्यसको क्षमता र खाका पेस गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निर्देशन दिएको छ । त्यस्तै काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल र रंगशाला परिसरमा पनि क्वारेन्टाइन बनाउन लागिएको छ । यसका लागि ती स्थानको क्षमता के–कति छ भन्ने खाका पेस गर्न राष्ट्रिय खेलकुद परिषद्लाई भनिएको छ । प्याब्सन, एनप्याब्सन र हिसानका पदाधिकारीलाई पनि विभिन्न शैक्षिक संघसंस्था र होस्टलमा कम्तीमा दुई हजार शय्याका क्वारेन्टाइन निर्माणको खाका पेस गर्न निर्देशन दिइएको छ ।

क्वारेन्टाइन निर्माणका लागि गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीको संयोजकत्वमा गठित समितिले मापदण्डको खाका तयार पारेको छ । क्वारेन्टाइन स्थल निर्माणसम्बन्धी मापदण्डको मस्यौदा समितिले आइतबार साँझ गृह मन्त्रालयमा बुझाएको छ । सरकारी, गैरसरकारी, निजी र व्यक्तिगत स्वामित्वमा भएका भौतिक संरचना र स्थलमा सार्वजनिक क्वारेन्टाइन निर्माण गर्न सकिने मस्यौदामा उल्लेख छ । उक्त मस्यौदा सोमबार बिहान बस्ने कार्यदलको बैठकमा पेस गरिने सहसचिव दुवाडीले कान्तिपुरसँग बताए । ‘त्यसपछि उपयुक्त स्थान छनोट र स्थलगत निरीक्षण गरेर काम अघि बढ्छ,’ उनले भने । बैठकमा अर्थ, गृह र सहरी विकास मन्त्रालय तथा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

भारतबाट भित्रिएकालाई ‘सेल्फ क्वारेन्टाइन’

सरकारले भारतबाट आएका नेपाली नागरिकलाई अनिवार्य रूपमा सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनमार्फत उनीहरूलाई कम्तीमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिएका नागरिकको संक्षिप्त परिचय, जान लागेको जिल्ला, स्थानीय तह र वडाको समेत विवरण संकलन गरेर सेल्फ क्वारेन्टाइनमा बसे–नबसेको अनुगमन र निगरानी गर्न गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिपत्र गर्दै नाकाबाट भित्रिएका नेपालीको व्यक्तिगत अभिलेख राख्न र उनीहरू कुन जिल्ला तथा स्थानीय तह र वडामा जान लागेको हो, त्यसको सबै विवरण राख्न निर्देशन दिइएको बताए । ‘नाकाबाट भित्रिएका नागरिक कहाँ जान्छन्, नेपाल प्रवेशपछि सेल्फ क्वारेन्टाइनमा बसेका छन्/छैनन्, त्यसको सूक्ष्म निगरानी र अनुगमन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई सर्कुलर गरिएको छ,’ अधिकारीले कान्तिपुरसँग भने, ‘नागरिककै स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्देशन दिइएको हो, विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा नबस्ने र मन्त्रालयको निर्देशन अटेर गर्नेमाथि कानुनअनुसार कारबाही हुन्छ ।’

भारतबाट १५ दिनमा भित्रिए ६ लाख

भारतमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका ६ लाखभन्दा बढी नेपाली स्थलमार्ग हुँदै नेपाल भित्रिएका छन् । फागुन २५ यता झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्मका नाका हुँदै उनीहरू नेपाल भित्रिएका हुन् ।

कोरोनाको संक्रमण भएका मानिस भित्रिन सक्ने आशंकामा दक्षिणतर्फ सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय २८ स्थानमा हेल्थ डेस्क स्थापना गरेका छन् । नेपाल भित्रिएका सबैको ज्वरो जाँच गरेर प्रवेश दिइएको छ । १५ दिनको अवधिमा नेपाल भित्रिएका ७० जना भारतीय नागरिकमा ज्वरो भेटिएपछि उतै फर्काइएको छ । गृह मन्त्रालयले सीमाबाट ज्वरो आएका बिरामी भित्रिन नदिन सुरक्षा जाँचलाई कडा पार्न निर्देशन दिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले तराई/मधेस र दक्षिणतर्फ सीमा जोडिएका जिल्लास्थित सुरक्षाकर्मीलाई नाकामा बढी केन्द्रित हुन निर्देशन दिइएको बताए । ‘सुरक्षा र स्वास्थ्य जाँचमा सम्झौता नगर्न स्पष्ट रूपमा निर्देशन दिएका छौं,’ उनले भने, ‘सोहीअनुसार आवश्यक मात्रामा सुरक्षाकर्मी र कर्मचारीलाई नाकातर्फ बढी केन्द्रित हुन भनिएको छ ।’

औषधि र सेनिटाइजर निकासीमा प्रतिबन्ध

सरकारले कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राख्दै तत्कालका लागि औषधि, सेनिटाइजर र मास्क निकासीमा प्रतिबन्ध लगाएको छ । कोरोनाको सम्भावित जोखिमका कारण नेपालमै यसको खपत बढ्न सक्ने औंल्याउँदै सीमा नाका हुँदै औषधि, सेनिटाइजर र मास्क निर्यात र निकासीमा अस्थायी प्रतिबन्ध लगाएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अर्को निर्णय नभएसम्मका लागि स्वास्थ्यजन्य कुनै पनि वस्तु निकासी गर्न नपाइने बताए । सरकारी निर्णय अटेर गरिए नाकाबाट त्यस्ता व्यक्तिलाई सामानसहित पक्राउ गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !