१२ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  23 May, 2022 2:55 pm


काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गरे ।

नेकपा ९एमाले का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी ब्योहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताए ।

विशेष समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)का मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताए ।

उनले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने बताए । नेकपा (एकीकृत समाजवादी्र) का जयन्तीदेवी राईले दिन प्रतिदिन महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षाको माग गरे । बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानुन परिमार्जन गर्नुपर्ने उनको । जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले बलात्कारीलाई आजीवन सजाय हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी राष्ट्रियसभाका स्वतन्त्र सदस्य डा खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हदम्याद टराउनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका गोपालकुमार बस्नेतले राज्यले स्वच्छ र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

एमालेका भगवती न्यौपानेले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने आवश्यकता औल्याए। माओवादी केन्द्रका जगप्रसाद शर्माले मूल्यवृद्धि, महँगी र भ्रष्टाचार अन्त्यको माग गरे । कांग्रेसका सदस्य नारायणदत्त मिश्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !