७ बैशाख २०८१, शुक्रबार

अमेरिकाको एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा २१ जनाको मृत्यु

प्रकाशित मिति :  25 May, 2022 8:55 am


एजेन्सी। अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ ।

युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ। घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो । यस विद्यालयमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकाहरु अध्ययनरत छन् ।

अमेरिकाको ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (९१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीका अनुसार अन्धाधुन्ध गोली चलाउने १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। टेक्सासको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थिए। रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समेत एपीले जनाएको छ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।

उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ। राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।



प्रतिक्रिया दिनुहोस !