२१ बैशाख २०८१, शुक्रबार

म्याग्दीकाे टुकुचे र धौलागिरी क्षेत्र आसपासमा विमान खसेकाे अनुमान

प्रकाशित मिति :  29 May, 2022 12:37 pm


काठमाडौं । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।

मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

“खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उनले भने ।

उनले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गरे । टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको र मौसम खराब भएको कारण समस्या भएको प्रजिअ शर्माले बताए ।

उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । 



प्रतिक्रिया दिनुहोस !