रोल्पा कारागारमा कैदीकाे आत्महत्याबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
प्रकाशित मिति : 31 May, 2022 6:13 pm
काठमाडौं । रोल्पा कारागारमा कैदी सुन्दर हरिजनले आत्महत्या गरेको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले काम सुरु गरेको ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाँके कारागारबाट रोल्पा कारागारमा स्थानान्तरण भएका कैदीहरू सुन्दर हरिजन र विजय विक्रम शाह मध्ये जेठ ४ गते रोल्पा कारागारमा कैदी सुन्दर हरिजनले झुण्डिएर आत्म हत्या गरेका थिए ।
मन्त्रालयले उनीहरूको स्थानान्तरण तथा आत्महत्याको घटना के कसरी भएको हो भन्ने विषयमा स्थलगत अध्ययन अनुसन्धान गर्ने विज्ञप्तिमा उल्लेख छ । हरिजन खेताला बन्दीको रुपमा रहेको खुलेको आरोप छ ।








