६ पुस २०८२, आइतबार

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयन गर्न जोड

प्रकाशित मिति :  2 June, 2022 5:52 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताएका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयमा भएको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको बताए ।

उनले भने,“बजेट निर्माण पूर्व हरेक सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाहरुकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसहरुका आधारमा बजेट निर्माण गरिएको हुँदा यो बजेट तपाईंहरूको हो, प्रतिनिधिकोरुपमा मैले प्रस्तुती मात्रै गरेको हुँ, मेरो क्षमताले भ्याएसम्म सबैका विषयहरुलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर हाेऔँ।” उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भएतापनि विगत ४–५ बर्षका बजेटहरुको श्रृखंला अध्ययन गर्दै तथ्याङ्किय हिसावबाट बजेट सिमाभित्रै रहने गरी ल्याइएको बताए । उनले भने,“बजेट राजनैतिक–आर्थिक दस्तावेज पनि भएकोले केही महत्वकांक्षा यसले पनि बोकेको छ, तर प्राकृतिक स्रोतहरुले भरिपूर्ण र अपार संभावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयहरुको कार्यान्वयनमा हामी प्रतिबद्ध भएर लाग्यौ भने हाम्रो सपना सार्थक हुनेछ ।”

अर्थ मन्त्रालयका वरिष्ठ अर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आम जनता र सरोकारवाला सवै क्षेत्रको अपेक्षा र आवश्यकताहरु समेट्दै सबैलाई अपनत्व महशुस हुने गरी बजेट आएको बताए । उनले भने,“बजेटले प्रदेश र स्थानीय निकायलाई ठूलो मात्रामा वित्तिय हस्तान्तरणसहित सशक्त बनाएको हुँदा बजेट प्रभावकारीरुपमा कार्यान्वयन हुन्छ ।”

वरिष्ठ अर्थशास्त्री तथा नेपाल आर्थिक संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुर्‍यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजश्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फिति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए । “ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ, तर विश्व बैंकको प्रतिवेदनहरू अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु ।” उनले भने, “यो भन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकोले विशेष ध्यान दिनुपर्दछ ।”

अर्थविद डा. पोषराज पाण्डेले तथ्याङ्क केलाउँदा बजेटले पोलिसी डिरेक्सन र आशा मात्रै जगाउने खालको देखिएको भए पनि सकारात्मक सोच र सफा नियतका साथ बजेट आएको बताए । वरिष्ठ अर्थविद् प्रा.डा. गोविन्द्र नेपालले बजेट समावेशी र रुपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजनाहरुको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको औल्याउदै गृहिणीदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुसम्मलाई समेत खुशी तुल्याउने गरी बजेट आएको बताए ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भइ सकारात्मक सोचका साथ बजेट आएको तर तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाहरुले निर्यात प्रबद्र्धन भन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शंका उत्पन्न गराएको बताए ।



प्रतिक्रिया दिनुहोस !