४ जेष्ठ २०८१, शुक्रबार

बजेट शेयर बजारमैत्री, नेप्से परिसूचक १११ अङ्कले ओरालो

प्रकाशित मिति :  2 June, 2022 6:14 pm


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले यही जठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷ ८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हकहित संरक्षण गर्ने विषय समावेश छ ।

बजेटले शेयर बजारको विकास र विस्तारमा जोड दिएको भए पनि कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागिरहेको छ ।

यस साता शेयर कारोबार भएका चार दिनमा लगातार बजार ओरालो लागेको छ । आइतबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन ।

सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ । बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा बढीले ओरालो लाग्यो । जेठ १७ गते मङ्गलबार ३५।५२ अङ्कले घट्यो । त्यस्तै १८ गते बुधबार ७।१९ अङ्कले ओरालो लाग्यो । आजसम्म आइपुग्दा नेप्से परिसूचक १८।२६ अङ्कले ओरालो लागेको छ ।

बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको छ ।

वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने कार्यक्रम बजेटमा समावेश छ ।

त्यस्तै उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिइ सहजीकरण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ ।

रु एक अर्ब वा सोभन्दा बढीको पुँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई बजेटले विशेष प्राथमिकता दिएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने, निक्षेप बिमाको विद्यमान सीमा रु तीन लाखबाट वृद्धि गरी रु पाँच लाख पु¥याइएको छ ।



प्रतिक्रिया दिनुहोस !