७ पुस २०८२, सोमबार

जिसस अर्घाखाँचीको सबै पदमा एमालेका उम्मेदवार निर्विरोध,गठबन्धनले उम्मेदवारी दिएन

प्रकाशित मिति :  5 June, 2022 11:54 am


अनिल नेपाली-

अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् ।

पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत भएन ।

जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।

उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव–१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाटबाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी–७ का कमल घिमिरे , भुमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी–४,डालकुमारी भण्डारी, शितगंगा–१०,सीता आचार्य, मालारानी–१ चयन भएका छन् । दलित–अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो ।

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ, नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !