७ पुस २०८२, सोमबार

नेप्सेको गिरावटमा ब्रेक : ६० अंकले बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति :  8 June, 2022 4:13 pm


काठमाडौं । सेयर बजारको लगातारको गिरावटमा आज ब्रेक लागेको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक भारी अंकले बढेको छ । धेरै लामो समयपछि बुधबार ६० अंकको वृद्धिसँगै सबै समुहमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ११.२५ अंकले बढेर ४००.३७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड १२ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । अन्य २ कम्पनीको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज माउन्टेन हाइड्रोको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.११ प्रतिशतले घटेर ३ सय १० रूपैयाँमा झरेको छ ।

कूल २३१ वटा कम्पनीको ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय ८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !