७ पुस २०८२, सोमबार

चालु आर्थिक वर्षको हालसम्म १२ सय फर्महरुलाई कारबाही, १ करोड ५० लाखभन्दा बढि जरिवाना

प्रकाशित मिति :  9 June, 2022 7:16 pm


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरुलाई कारबाही गरेको छ । कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका महानिर्देशक लिलाप्रसाद शर्माले चालु आर्थिक वर्षको हालसम्म २७१३ फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये १२०१ फर्मबाट कारवाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरुलाई चेतावनी स्वरुप सचेत गराइएको जानकारी दिए ।

उनले जेठ २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र बैशाख महिनामा ३०२ फर्महरुलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैया जरिवाना गरिएको बताए ।

उनले विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरु सहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताए । विभिन्न समस्याका बाबजुत विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रुपले बढेको छ’ महानिर्देशक शर्माले भने ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौ।’

विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेकोले उनले बताए ।

‘हामीले व्यापारीहरुलाई अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्नुका साथै आम उपभोक्तालाई पनि त्यस्ता क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नं। ११३७ मा जानकारी दिन अपिल गरिरहेका छौ’ महानिर्देशक शर्माको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !