विप्रेषण आप्रवाहमा लगातार सुधार
काठमाडौं । विप्रेषण आप्रवाहमा लगातार सुधार देखिएको छ । गत चैत्रमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ विप्रेषण भित्रिएकोमा वैशाखमा बढेर ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धि पछिल्लो दश महिनाको समीक्षा अवधिको प्रतिवेदन अनुसार विप्रेषण ०.२ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,७८,२९८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २,३०,४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।
विप्रेषण बढेपनि मुलुकको विदेशी मुद्रा सञ्चिती भने घटेको छ । चैतमा कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेकोमा अहिले घटेर ९ अर्ब २८ करोड अमेरिकी डलरमा झरेको छ ।








