वली प्रकरण प्रदेश सभामा प्रवेश,सदनलाई जानकारी गराउन सभामुखको सरकारलाई निर्देशन
रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले विमला वली प्रकरणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
नेकपा एमालेले घटनाबारे प्रश्न उठाँउदै सदन अवरुद्ध गरेपछि सभामुख घर्तीले यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । सभामुख घर्तीले भने,“माननीय श्री भूमेश्वर ढकालले उठाएका प्रश्नमा म सरकारको ध्यानकर्षण गराउँदै सम्मानित सदनलाई यस विषयमा सरकारको धारणा पेश गर्न निर्देशन गर्दछु ।”
नेकपा एमालेका प्रमुख सचेतक ढकालले वली प्रकरणबारे सरकारले आफ्नो धारणा पेश नगरेसम्म सदन चल्न नदिने बताएका छन् । एमालेले सदन अवरुद्ध गरेपछि बजेट पेश गर्ने कार्यक्रम प्रभावित बनेको छ । यस विषयमा आन्तरिक छलफल भइरहेको छ ।
राज्यमन्त्री वलीले प्रेमी भनिएका एकराज बस्नेतको घरमा गएर श्रीमती र छोरीमाथि हातपात गरेको आरोप लागेको थियो ।
होहल्ला भएपछि वलीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो ।
मन्त्री वलीले भने एकराज बस्नेतले आफूसँग सापटी लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्क विहिन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको बताएकी छन् । उनले बस्नेतको घरमा पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाब भएको आफू बेहोस भएको बताएकी छन् ।








