१२ श्रावण २०८१, शनिबार

क्वारेन्टाइनका लागि पर्यटनमन्त्री भट्टराईको दौडधुप,देशभर १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी

प्रकाशित मिति :  25 March, 2020 3:45 pm


काठमाण्डौं, १२ चैत । क्वारेन्टाइनका लागि पर्यटनमन्त्री भट्टराईको दौडधुप, नगरकोटदेखि दुवाकोटसम्म स्थलगत अनुगमन र छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस सङ्क्रमितहरुका लागि क्वारेन्टाइन निर्माण गर्न विभिन्न ठाँउहरुको स्थलगत निरिक्षण गरेका छन् । मन्त्री भट्टराईले बुधबार काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरिक्षण गरेर सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

पर्यटन मन्त्री भट्टराई सरकारले गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत हुन् । भट्टराईको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कोरोना भाइरस (कोभिड—१९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ यसअघि (१० चैत२०७६ ) नै स्वीकृत भइसकेको छ । कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृत गरेको हो ।

क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ तयार पारेर स्वीकृत भए लगत्तै पर्यटन मन्त्री भट्टराई क्वारेन्टाइन निर्माणका लागि दौडधुपमा छन् । मंगलबार पनि दिनभरी जसो क्वारेन्टाइन निर्माणका लागि स्थलगत निरिक्षण र छलफलमा जुटेका मन्त्री भट्टराईले बुधबार बिहान ८ बजे नगरकोट पुगेका थिए । मन्त्री भट्टराईले नगरकोट पुगेर नगरकोटका होटल व्यवसायी र सरोकारवाला निकायका प्रमुखहरुसँग क्वारेन्टाइन निर्माणका लागि छलफल गरेका थिए । मन्त्री भट्टराईले विश्व र मानव समाज नै गम्भिर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यो संकटबाट मुत्ती पाउन सबैको सहकार्य, सहयोग र समन्वय भएको बताए ।

छलफलमा मन्त्री भट्टराईले नगरकोटका होटल व्यवसायीहरुलाई उयपुक्त होटलहरु क्वारेन्टाइन निर्माणका लागि दिन आग्रह गरे । मन्त्री भट्टराईसँगको छलफलपछि व्यवसायीहरुले होटललाई क्वारेन्टाइन निर्माणका लागि दिन तयार रहेको प्रतिबद्धता जनाए ।
नगरकोटमा करिब २ हजार कोठाहरु उपलब्ध रहेको छ । ती मध्ये पहिलो चरणमा ५ सय कोठाहरुलाई क्वारेन्टाइन निर्माण गरिने भएको छ । नगरकोटका होटलहरुमा क्वारेन्टाइन निर्माणका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको समिति बनाइएको छ ।

यसै गरी बुधबार नै मन्त्री भट्टराईले भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजको पनि निरिक्षण गरेका छन् । त्यहाँ मन्त्री भट्टराईले दुवाकोटमा व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, चाँगुनारायण नगरपालिकाका मेयर र स्थानीय जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए । दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० बेड र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ ।

मन्त्री भट्टराईले पशुपति क्षेत्रमा धर्मशालाको पनि स्थलगत निरिक्षण गरेका छन् । धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ । मंगलबार मन्त्री मन्त्री भट्टराईले ललितपुर स्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र ललितपुरकै हात्तीबन स्थित लिटिल एन्जल स्कुलको निरिक्षण गरेका थिए ।

१ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी

मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए । मन्त्री भट्टराईका अनुसार संघीय सरकारले ५ हजार क्वारेन्टाइन, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने गरी तयारी भइरहेको छ । यसैगरी ७७ जिल्ला मध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २/२ हजार क्वारेन्टाइन निर्माणको तयारी रहेको छ ।

‘क्वारेन्टाइन प्रयोगको दिन नआओस्’

मन्त्री भट्टराईले क्वारेन्टाइन निर्माणका लागि तिव्र काम भइरहेको भएपनि क्वारेन्टाइन प्रयोगको अवस्था नआउने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘मलाई विश्वास छ, हामी सबैको सचेतना, सुरक्षा र सहकार्यले यी क्वारेन्टाइनको प्रयोगको अवस्था आउने छैन ।’

मन्त्री भट्टराईले कोरोनाभाइरस सङ्क्रण रोक्ने प्रमुख आधार नागरिकहरुको ‘सेल्फ’ सुरक्षा, सचेतना र अनुशासन नै भएको उल्लेख गर्दै तोकिएको समयमा घरमै बस्न आह्रवान समेत गरे । आफू सचेत र सुरक्षित हुनु नै आफ्नो परिवार, समाज, देश र विश्वलाई सुरक्षित राख्नु भएको बताउदै लक डाउनको नियम र अनुशासन मान्न अनुरोध समेत गरे ।



प्रतिक्रिया दिनुहोस !