बिध ल्याबका सञ्चालक भण्डारी विरुद्ध भ्रष्टाचारको मुद्दा, ४ वर्ष सुब्बाको जागिर खाँदा रू. ६ करोड कमाई
काठमाडाैं । बिध ल्याबका सञ्चालक तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरको छ ।
भण्डारी विरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । भण्डारीले २०७३ असोज २१ मा राजपत्र अनंकित प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए । स्वेच्छिक अवकाश लिएर काेराेनाकालमा मेडिकल क्षेत्रकाे व्यापारमा सकृय भएका थिए ।
सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६.०९ आय आर्जन गरेको देखिएको अख्तियारको भनाई छ ।
तर,निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६,५०,६५,६४२.५३ खर्च तथा लगानी गरेको देखिएको छ ।
कुल आय आर्जन रु. २६,६१,६३६.९ मा गरेको कुल खर्च तथा लगानी व्यय रु.६,५०,६५,६४२.५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६.४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको अख्तियारको भनाई ।
अख्तियारले भण्डारीको नाममा रहेको सम्पत्तिबाट रु.६,०६,४१,८१३.९१ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु.१७,६२,१९२.५३ समेत गरेर रु. ६,२४,०४,००६.४४ जफत गर्न समेत माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।








