राेल्पामा महिला हिंसा न्यूनिकरण गर्न सचेतना कार्यक्रम
उमा केसी-
राेल्पा । हिंसामा परेका महिला तथा बालबालिकाहरूलाई अल्पकालिन आश्रय दिन सदरमुकाम लिवाङमा स्थापना गरिएको अल्पकालिन आश्रय गृहमा यस वर्षको जेठ मसान्तसम्म ७४ जनाले आश्रय लिए ।
आश्रय लिने मध्ये ४५ जना महिला र २९जना तिनमा आश्रीत बालबालिका र अभिभावक थिए । उनीहरू मध्ये अधिकांश आप्mनै श्रीमानवाट पीडित भए । श्रीमानले घरमाखान बस्न नदिएको भन्दै न्यायको ढोका ढकढक्याउन अबोध बालबालिका पिठ्युमा च्यापेर सदरमुकाम धाएका उनीहरूले त्यहाँ कम्तिमा ४५ दिनसम्म आश्रय लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा यस वर्षको जेठ मसान्तसम्म घरेलु हिंसाका ७३ र लैंगिक हिंसाका १२ गरि कुल ८५ उजुरी परे । यसरी परेका उजुरी मध्ये ६९ वटा उजुरी मिलापत्रमा टुंगियो । २ वटा उजुरी छलफल हुनवाँकी रहँदा १४ वटा उजुरी सम्बन्ध विच्छेदका लागि माथिल्लो निकायमा चलान भए ।
अघिल्लो आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालय रोल्पामा घरेलु हिंसाका ९९ र लैंगिक हिंसाका ८ गरि १०७ उजुरी दर्ता भएका थिए । यसरी दर्ता भएका उजुरी मध्ये ७८ वटा मिलापत्र हुँदा ११ वटा फच्र्छौट हुन बाँकी रहे । १४ वटा उजुरी सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा सिफारिस भएका थिए ।
आर्थिक वर्ष २०७६/०७७ मा घरेलु हिंसाका ८८ र लैंगिक हिंसाका १० गरि ९८ वटा उजुरी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका थिए । त्यसरी दर्ता भएका उजुरी मध्ये ६५ वटा मित्रापत्र हुदा १३ वटा फच्छ्यौट हुन थिए । मिलापत्र हुन नसकेका २० उजुरी भने सम्बन्ध विच्छेदका लागि रोल्पा जिल्ला अदालत पठाइयो ।
यसैगरि आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तरगतको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा घरेलु हिंसाका ९१ र लैंगिक हिंसाका २२ गरि ११३ उजुरी दर्ता भएका थिए । दर्ता उजुरी मध्ये ८६ वटा मिलापत्र हुँदा १५ उजुरी फच्छ्रयौट गर्न बाँकी थिए । सो वर्ष १२ मिलापत्र हुन नसकेका १२ वटा उजुरी संवन्ध विच्छेदका लागी अदालत पठाइएका थिए ।
वितेको ३ वर्ष र चालू आर्थिक वर्षको ११ महिनामा घटेको यो तथ्यांकले रोल्पामा घरेलु हिंसा र लैंगिक हिंसाको अवस्था समस्याको रुपमा रहेको देखाउछ । न्यायका लागी आएका यी प्रतिनिधि घटना बाहेक समाजमा लुकेर रहेका हिंसाका घटनाको लेखाजोखा छैन । प्रहरी प्रशासनको पहुँचनजिक रहेका तथा शिक्षित परिवारबाट न्यायका लागि यस्ता उजुरी आए पनि जिल्ला मान्यायको पहुँचमा आउन नसकेका यस्ता घटना ठूलो संख्यामा रहेको बताईन्छ ।
महिला माथि कुटपिट गर्ने,गालिगलौज तथा डरधम्कि दिएर घरमा बस्न नसक्ने अवस्था भएका महिलाहरूले सुरक्षाका लागि अल्पकालिन आश्रय गृहमा आउने गरेको आश्रय गृह सञ्चालन गरिहेको संस्था सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसा आचार्यले जानकारी दिईन् ।
हिंसा पीडित महिलाका केशहरू केही सामान्य र केही जटिल प्रकृतिका हुने गर्दछन् । “सामान्य हिंसामा परेकाहरूलाई परामर्श सेवाका साथै अल्पकालिन आश्रयको व्यवस्था गर्छौ भने जटिल केशहरु अस्पताल सम्म पुर्याउनु पर्नेखालका हुन्छन्,” अध्यक्ष आचार्यले भनिन् । घाउ चोट लाग्ने वा अंगभंगहुने गरि कुटपिट गरिएका केशहरू अस्पतालसम्म पु¥याउनु पर्ने उनको भनाई थियो । घरबाट लखेटिएका कतिपय हिंसा पीडित महिलाहरू खाली खुट्टा अल्पकालिन आश्रय गृह सम्म आउने गरेको अध्यक्ष आचार्यले जानकारी दिइन् ।
हिंसा पिडित महिलाहरूलाई सेवा दिन राष्ट्रिय महिला अयोगको टोलफ्रीनम्वर ११४५ र नेपाल प्रहरीको टोलफ्रीनम्बर १०४ चौविसैघण्टा खुला रहने गर्दछ । जिल्लामा पनि महिला संजालहरूमा लैंगिक हिंसा न्यूनिकरणको संयन्त्र वनाइएको हुँदा नजिकको संजालहरूमा खबर गर्न सकिने अधिकारकर्मी तीर्था आचार्यको भनाई छ । “हिंसा पीडितहरूका लागि जिल्लामा सञ्चालित अल्पकालिन आश्रय गृहमापनि संम्पर्क गर्न सकिने संयन्त्र बनाएका छौ,” आचार्यले भनिन् । हिंसा पीडित महिलाहरूको न्याय र मानवअधिकार रक्षाका लागीसरोकारवाला सवै लाग्नुपर्ने उनको भनाई थियो ।
घरेलु हिंसाले परिवारमा विखण्डन ल्याउनुको साथै सामाजिक हिंसाले द्वन्द्व निम्तिने खतरा बढ्दै गएको सरोकारबालाहरूको भनाई छ । श्रीमान श्रीमतीबीचको द्वन्द्वले परिवार विखण्डन हुदात्यसको मारमा बालवालिका पर्ने गरेका छन् ।
“उनीहरूको शिक्षा, स्वास्थ्यतथा मनोविज्ञानमा समेत गम्भिर असर गर्ने गर्दछ,”मनोसामाजिक विमर्शकर्ता दिलकुमारी वुढामगरले भनिन् । हिंसामा पर्ने महिलाका प्रायः बालबालिका पढाई छाडेर लामो समय सम्म आमासंगै जाने गरेको उनको भनाई थियो । “उनीहरूमा पोषण तथा स्वास्थ्यमा समेत दीर्घकालिन असर देखिने गरेको छ,” बुढामगरले भनिन् ।
“घरेलु हिंसावाट पीडीत हुनेहरू मध्ये अधिकांशलाई श्रीमानले मादकपदार्थ सेवनगरि कुटपिट गर्ने गरेको देखिन्छ,” बुढामगरले भनिन् ।
घरेलु हिंसा र लैंगिक हिंसा न्यूनिकरणका लागी प्रहरीले समेत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सामुदायिक प्रहरी सेवा समिति मार्फत जिल्लाका विभिन्न विद्यालय र समुदायहरूमा चेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पा महिला,बालबालिकातथा जेष्ठ नागरिक सेवा केन्द्रका जीतवहादुर बुढाथोकीले जानकारी दिए । “रेडियोबाट सन्देशमूलक सूचनाका साथै प्रहरीद्धारा जिल्लाका विभिन्न स्थानहरूमा समय समयमा सडक नाटकहरू पनि भैरहेको छ,” बुढाथोकीले भने ।








