कांग्रेस या एमालेसँग मिलेर जानुपर्ने बाध्यता छ : दाहाल

काठमाडौं । नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमा जाँदा गठबन्धन गरेरै जानुपर्ने बाध्यता भएको बताए ।
बुधबार स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै दाहालले राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए ।
उनले भने ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ,’ प्रचण्डले भने, ‘हाम्रो सपना अब रुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’
गठबन्धन छ भइहाल्छ भनेर ढुक्कले बस्दा पनि धेरै स्थानीय तहमा चुनाव हारेको प्रचण्डले बताए । गठबन्धन भए ठीकै छ, नभए एक्लै भिड्ने गरी तयारी गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन ।’ तपाईहरु आफ्नो ठाउँमा राम्रो गर्नुहोस् ।
दाहालले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप लगाउँदै एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् ।
१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए ।
ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।