१४ बैशाख २०८१, शुक्रबार

रोल्पाका स्थानीय निकायका प्रमुखहरुको फेसबुकमा दोहोरी, कोरोना रोकथाममा ‘समन्वय अभाव’

प्रकाशित मिति :  26 March, 2020 10:31 am


रोल्पा, १३ चैत । मुलुक कोरोना भाइरसको त्रासका कारण आक्रान्त छ तर रोल्पाका स्थानीय निकायका प्रमुख भने आपसी समन्वयको साटो फेसबुकमा असन्तुष्टि पोखिरहेका छन् ।  क्षमता अनुसार कोरोना भाइरसको रोकथामका लागि तयारी गरेपनि आन्तरिक असन्तुष्टि बाहिर देखिने गरि गाँउपालिकाका प्रमुख तथा वडाका प्रमुखले फेसबुकमै असन्तुष्टि पोखेका छन् ।

‘लक-डाउन’ भएकै दिन त्रिवेणी गाँउपालिकाका अध्यक्ष शान्तकुमार ओलीले लेखे,‘मानिसहरुलाई लकडाउनको अर्थ बुझाउन गाह्रो भयो, कफ्र्यु नै लगाउनुपर्ने भयो, बल्ल बुझ्छन् यो त हाम्रो लागि हो भनेर ।’ अध्यक्ष ओलीको स्टाटसमा रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढामगरले ठट्यौंली पारामा लेखे,‘ होइन होला अध्यक्ष ज्यू !’

त्रिवेणी गाँउपालिकाका अध्यक्ष ओलीको स्टाटस र रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बुढामगरको टिप्पणी

त्यसो त कोरोना भाइरस संक्रमणको हल्ला फैलिएदेखि नै रोल्पाका नाकाहरुमा जाँच गर्ने र क्वारेन्टाइनका लागि कक्षहरु निर्माण गर्ने काम सुरु भएको थियो । रुन्टीगढी गाँउपालिकाले १५ शैयाँको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ भने जिल्ला अस्पतालमा पनि आइशोलेशन कक्ष तयार गरेको छ । सबै स्थानीय निकायले होम क्वारेन्टाइनको पनि व्यवस्था गरिएको जनाएका छन् । तर, स्थानीय निकायका प्रमुखहरुको सार्वजनिक टिप्पणीका कारण असन्तुष्टि छताछुल्ल देखिएको छ ।

सुनछहरी गाँउपालिका वडानम्बर—५ का अध्यक्ष तिर्खबहादुर बुढाथोकीले लकडाउनको दोस्रोदिन राति अबेर लेखे,‘हाम्रो नेपालका नेताहरु यो बेलामा किताब पढ्ने, नेपालमा के भैराछ भन्ने थाह नै न रहिछ बरु नेताजिहरु कोरोनाको किताब पढ्नुस र नेपालका जनतालाई कसरी सुरक्षित राख्ने सोच्नुस ।’

सुनछहरी गाँउपालिका वडा नं. ५ का अध्यक्ष बुढाथोकीको स्टाटस

अध्यक्ष बुढाथोकीको स्टाटसले गाँउपालिकाभित्रको अवस्था त तयारीबारे दिक्दारी प्रष्ट हुन्थ्यो । तर बुढाथोकीलाई कमेन्ट गर्नेहरुले तपाई पनि नेता हो नी भनेर सम्झाएका छन् । रोल्पामा स्थानीय निकायबीच समन्वयको अभाव भएको र समस्या आए कहाँ सम्पर्क गर्ने भनेर प्रष्ट जिम्मेवार व्यक्ति नतोकिएको टिप्पणी हुने गरेको छ । अन्य स्थानीय निकाय तथा जिल्लाहरुमा कुनै समस्या देखिए सम्बन्धित व्यक्तिलाई खबर गर्ने भनेर फोन नम्बरसहित उल्लेख गरिएको छ तर रोल्पामा भने सम्पर्क व्यक्ति नतोकिएको भन्दै आलोचना भएको छ ।

सुनिल स्मृति गाँउपालिका वडा नम्बर ४ ले भने आज नम्बर उपलब्ध गराएको छ । वडाअध्यक्ष गञ्जबहादुर क्षेत्रीले आफ्नो फेसबुक स्टाटसमा फोननम्बर हाल्दै विदेशबाट आएकाले सम्पर्क गर्न भनेका छन् ।

सुनिल स्मृति गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले राखेको सम्पर्क नम्बर

जिल्ला प्रशासन कार्यालयदेखि सबै नगरपालिका,गाँउपालिका र वडाले लाकडाउनका बेला आफ्ना सेवा बन्द भएका, स्वास्थ्य जाँच गरिरहेको तथा यसबाट कसरी बच्ने भन्ने विषयका सूचनाहरु निरन्तर प्रवाह गरिरहेपनि समस्या आए कसलाई सम्पर्क गर्ने भन्नेबारेमा भने कतै उल्लेख गरेका छैनन् । कोरोना संक्रमणबाट बच्ने तयारीबारे असन्तुष्टि पोख्दै रोल्पाका पत्रकार एलबी मगरले भारत र खाडी मुलुकबाट हजारको संख्यामा रोल्पा भित्रिएका रोल्पालीको अवस्था के छ भन्दै प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन,‘भारत र खाडी मुलुकबाट हजारको संख्यामा रोल्पा भित्रिएका रोल्पालीहरुको अवस्था के छ ? कहाँ कसरी बसिरहेका छन् ? स्वास्थ्य अवस्था कस्तो छ ? कतै केही आधिकारिक रेकर्ड छ होला ? कि कतार एअरवेज र दुबईबाट आएका नागरिक जस्तै कोरोना भाइरस संक्रमित भएपछि मात्रै रेकर्ड खेल्न लाग्ने हो र ? यो जिम्मेवारी कसको ? स्थानीय प्रशासनको कि स्थानीय सरकारको ? कि प्रदेश वा संघीय सरकारको ?

पत्रकार एलबी मगरको स्टाटस

पत्रकार एलबी मगरको यो टिप्पणीले पनि रोल्पामा बाहिर तयारी देखिएपनि भित्र समन्वय र कार्यान्वयनको अभाव प्रष्ट देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !