१५ चैत्र २०८०, बिहिबार

परिसंघको स्टार्ट अप फेस्टमा २४ करोड ५० लाख लगानी सम्झौता

प्रकाशित मिति :  26 June, 2022 12:35 pm


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले गरेको सिएनवाईईएफ नेपाल स्र्टाटअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता गरेको छ । शनिबार काठमाडौंमा भएको कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको जनाएकोे छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो ।

स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको नेपाल उद्योग परसंघले जनाएको छ । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको उपस्थितीमा लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।

स्वपूँजी लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताएका छन् । “नविन सोच भएका युवाहरुलाई प्रोत्साहन गर्नको लागि नै यो कार्यक्रम आयोजना गरेका हौं । एक दिन भव्य कार्यक्रम गरेर मात्रै हामी बस्ने छैनौं । यहाँ सहभागी प्रत्येक परियोजना अगाडि बढ्ने वातावरण बनोस् भन्ने हामी चाहन्छौं” उनले भने ।

परिसंघका प्रेसिडेन्ट एमिरेटस् एवं सांसद विनोद चौधरीले कार्यान्वयन योग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरेका छन् । विश्वमा धनी भएका व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरे । “आज तपाईले गर्ने निरन्तरको प्रयासले भोलीको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ । त्यसका लागि धैर्य, लगाव, योजना र प्रतिबद्धता आवश्यक पर्छ” उनले भने ।



प्रतिक्रिया दिनुहोस !