वामदेवको ‘हेडक्वाटर’मा घुसकाण्डमा सजाय काटेका कार्कीको प्रवेश
काठमाडौं । वामदेव गौतमले आज ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ को नयाँ दल घोषणा गरे ।
घोषणा गर्दा नयाँ दलमा ७५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको जनाईएको छ । स्थायी कमिटी भने १५ जनाभन्दा नबढ्नेगरि बनाइने उल्लेख छ । पार्टीले ८ सदस्यीय हेडक्वार्टर (केन्द्रीय सचिवालय) गठन गरेको छ ।
हेडक्वाटरमा संयोजक गौतमसहित सचिव डीबी कार्की, सदस्य ओम शर्मा चालिसे, सदस्य डिल्लीराज भट्टराई, सदस्य दुर्गा भण्डारी, सदस्य निमकान्त पाण्डे, सदस्य भगवती विष्ट र सदस्य युवराज सफल रहेका छन् ।
हेडक्वाटरमा समावेश भएका डीबी(डिलबहादुर) कार्की भने अदालतले भ्रष्टाचारको मुद्दामा सर्वोच्चले दोषी ठहर गरेपछि सजाय कटान गरेका व्यक्ति हुन् ।
कार्की नेकपा एमालेबाट पहिलो संविधानसभामा समानुपातिक सभासद थिए । सभासद रहेकै बेला प्रहरी निरीक्षकमा भर्ना गरिदिने भन्दै एक युवाबाट लिएको एक लाख रुपैयाँसहित कार्की पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले एक लाख रुपैंया घुस लिदै गर्दा कार्की र उनका सहयोगी ‘स्वामी एक हजार आठ’ ब्रहमानन्द उदासिनलाई भिमसेनगोलास्थित डेराबाट पक्राउ गरेको थियो ।
२०६७ सालमा पक्राउ परेपछि कार्की विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले छ महिना कैद र एक लाख जरिवाना हुने ठहर गरेको थियो । त्यसका विरुद्ध सर्वोच्चमा कार्कीले पुनरावेदन गरेका थिए । सर्वोच्चले समेत विशेष अदालतको फैसला सदर गरेको थियो ।
फैसलापछि २०७६ भदौं १९ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जाका कार्कीलाई पक्राउ गरेको थियो । पक्राउपछि सोही दिन कारागार चलान भएर कैद भुक्तान गरेका थिए ।








