४ पुस २०८२, शुक्रबार

प्रदेश १ का धार्मिकस्थलको भ्रमण गर्ने ४५.० प्रतिशत पर्यटकको मुख्य पेशा नोकरी

धेरैको उद्देश्य भाकल र वाचा पूरा गर्ने
प्रकाशित मिति :  29 June, 2022 1:09 pm


काठमाडौं । प्रदेश १ का धार्मिकस्थलको भ्रमण गर्ने ४५.० प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २५.० प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंक,बिराटनगर शाखाले सार्वजनिक गरेका ‘प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीहरूको, विशेष अध्ययन प्रतिवेदन २०७७/७८’ अनुसार प्रदेश १ को धार्मिकस्थलको भ्रमण गर्नेमा सबैभन्दा धेरै नोकरी गर्ने रहेको देखाएको हो । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरूमध्ये ६७.५ प्रतिशतले परिवारका सदस्य सहित धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ भने परिवारका सदस्यबाहेक अन्य समूहगत रुपमा भ्रमण गर्ने पर्यटक २२.५ प्रतिशत रहेको पाइएको छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ,“धार्मिकस्थलको भ्रमण गर्ने ३० देखि ४५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी ४० प्रतिशत र ६० वर्ष भन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम १२.५ प्रतिशत रहेको देखिएको छ ।”

सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको औसत भ्रमण अवधि २.५ दिन रहेको पाइएको छ । सर्वेक्षणमा सहभागी ८०.० प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल÷वाचा पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ । विगत पाँचवर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकहरुकोभ्रमण खर्च अघिल्लो पटकको तुलनामा ४३.६ प्रतिशतले वृद्धि भएको देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

धार्मिकस्थल भ्रमण गर्दा सर्वेक्षणमा सहभागी प्रति पर्यटक औसत खर्च रु.११,८०० भएको देखिएको छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरूको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४३.३ प्रतिशत र होटल (खाना सहित) र पूजा तथा उपहार सामाग्री खरिदका लागि क्रमशः ३५.९ प्रतिशत र १०.६ प्रतिशत खर्च भएको देखिएको छ ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसाय सञ्चालन गर्ने ९०.० प्रतिशत व्यवसायीको व्यवसाय सञ्चालन गर्ने मुख्य आधार धार्मिक पर्यटन रहेको पाइएको छ ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसायको कुल बिक्रीमध्ये पूजा सामाग्रीको बिक्री अंश सबैभन्दा बढी ८०.० प्रतिशत र उपहार तथा हस्तकलाका सामाग्रीकोबिक्री अंश २०.० प्रतिशत रहेको पाइएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसायको भारित औसत मुनाफा २८.४ प्रतिशत रहेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !