२१ बैशाख २०८१, शुक्रबार

कोरोना रोकथाम तथा प्रतिकार्यको कामलाई कर्णाली प्रदेश सरकारले थप तीव्रता दिने, मन्त्रीहरुको काम बाँडफाँड

प्रकाशित मिति :  26 March, 2020 5:42 pm


सुर्खेत, १३ चैत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यको कामलाई थप तीव्रता दिइने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विषयगत मन्त्री र सचिवको संयुक्त बैठकले हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनमा प्रतिकार्यको काम तीव्र र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना सङ्कटको सामाधान सरकारको तात्कालीन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।
बैठकले स्वास्थ्यकर्मीका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामग्री र औषधिलगायत आपूर्तिका लागि सङ्घीय सरकार, निजी तथा बाह्य आपूर्तिकर्तालाई अनुरोध गर्नाका साथै सम्भावित सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जुम्ला, कालीकोट, मुगु र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पतालबाट रुकुमपश्चिम, जाजरकोट, डोल्पा र पूर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गर्न निर्देशन गर्ने निर्णय गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

बैठकले प्रतिकार्य योजनाका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाइनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी, प्रदेश अस्पताल र जिल्ला अस्पतालमा शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयका लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिईएको छ ।

प्रदेशका दशवटै जिल्लामा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय बनाउने पनि बैठकले निर्णय गरेको सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !