७ बैशाख २०८१, शुक्रबार

स्वर्गीय पतिको सम्झनामा वीरेन्द्रनगरकी कमलाले बनाइदिइन क्याम्पसलाई भवन

प्रकाशित मिति :  1 July, 2022 7:40 pm


वीरेन्द्रनगर । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिएकी छिन् ।

उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन् । एक वर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

मल्लले २५ लाख एक हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोष स्थापना गरेकी छिन् । क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि रु ७८ लाख २८ हजार ८८२ लागत लागेको बताए ।

क्याम्पसका लागि मल्लले एक करोड तीन लाख २९ हजार ८८२ दान स्वरुप प्रदान गरेकी थिइन् । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो । आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्वारा भवनकोे उद्घाटन एवं हस्तान्तरण गरिएको छ । शिक्षा क्याम्पसका प्रमुख माधवप्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक सङ्कटका आरोहअवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको बताए ।

यद्यपी यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उनले चिन्ता व्यक्त गरे । खनालका अनुसार अहिले क्याम्पसमा ३७ मात्र कर्मचारी रहेका छन् । राज्यले वास्ता नगरेक कारण केही कर्मचारी आफैँले राखेको उनले बताए । आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरुप अगाडि बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस !