१२ बैशाख २०८१, बुधबार

‘प्यारो नेपाल’ खण्डकाव्य विमोचित

प्रकाशित मिति :  2 July, 2022 8:23 pm


काठमाडौं। साहित्यकार एवं समाजसेवी रेणुका पन्थीको प्यारो नेपाल खण्डकाव्य एक समारोहकाबीच काठमाडौंमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल, प्रा. डा. रामप्रसाद ज्ञवाली र प्रा. डा. भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

खण्डकाव्य विमोचन कार्यक्रममा प्रमुख अथिति एवं प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले यस खण्डकाव्य भावनात्मक उच्चताले भरिएको र देशको वर्तमान झल्को पाइने बताए ।

“देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयहरूभित्र देखिने आशा–निराशा, उतार–चढाव, आलस्य–उत्साह आदि सबैप्रतिको कवि दृष्टिले गर्दा यो काव्य केवल भावनात्मक मात्र नभएर स्पष्ट वैचारिक दृष्टिकोणयुक्त बन्न पुगेको छ,” उनले भने ।

खण्डकाव्यमा देशभक्तिको भावनालाई केन्द्रमा राखेर अगाडि बढे पनि त्यसभित्र देशको वर्तमान अवस्था र समसामयिक चेतनासँग जोडिएर आउन सक्ने सबै खाले भावनालाई यहाँ समेट्ने प्रयास गरिएको डा. नेपालले बताए ।

साहित्यकार एवं प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले यस खण्डकाव्यमा समाजको अनुभूति प्रस्तुत भएको बताए । “विखण्डित अवस्थामा आएको खण्डकाव्यले नेपालको यथार्थ चित्रण गरेको छ । कविले देश निर्माणका लागि चेतना निर्माण गर्नु हो, कविताले सुन्दरताको खेती गर्नु हो,” उनले भने, “यस खण्डकाव्यमा देशको सुन्दरताको परिकल्पना गरिएको छ ।”

वाल्मीकि विद्यापीठका प्राचार्य एवं कार्यक्रमका सभापति प्रा डा. भागवत ढकालले सिंगो नेपालको प्रतिनिधित्व गरेर खण्डकाव्य तयार भएको बताए । उनले भने, “प्यारो नेपाल हामी सबैको मनमा रहेको छ, तर त्यसलाई चिन्न सकेका छैनौं ।” खण्डकाव्यको परम्परामा यो कृति आएको छ, यसले समग्र नेपालको सौन्दर्य चित्रण गरेको डा. ढकालले बताए ।

गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा लागेकी पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएकी छन् । उनले एकल महिला परिचय र प्रकारमा अनुसन्धान गरी लुम्बिनी प्रदेशमा महिला हकहितका लागि नीति निर्माणमा समेत सहयोग पु¥याएकी छन् ।



प्रतिक्रिया दिनुहोस !