८ बैशाख २०८१, शनिबार

तेह्रथुम ‘ढाकाको राजधानी’

प्रकाशित मिति :  5 July, 2022 8:43 am


तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो ।

ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास गर्न, घर–घरसम्म ढाका बुन्ने संस्कृतिको विस्तार गर्न र यहाँ उत्पादन हुने ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएकोे म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवद्र्धन गर्न विगतका वर्षहरूबाटै ढाका बुनाइ तालिम तथा सहयोग सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १४५ ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा छन् । जिल्लामा एक हजारभन्दा बढी उद्योग दर्ता नभई सञ्चालनमा रहेको उक्त कार्यालयको आकलन छ । जिल्लाको ढाका उद्योगमा पाँच हजार बढी जनशक्तिले रोजगारी पाएको तथा ढाका कपडा बुनाइसम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजारभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

स्थानीयस्तरमा ढाका व्यवसास गर्दै आएका व्यवसायी कच्चा सामग्रीको अभाव खेपिरहेका छन् भने बजार सीमित हुँदा समस्या भोग्दै आएका छन् । जिल्ला ढाकाको राजधानी घोषणा भएपछि व्यवसायीका समस्या समाधान हुने व्यवसायी शोभा दाहालको अपेक्षा छ । “ढाका कपडा उत्पादनका लागि आवश्यक कच्चा सामग्री तथा बजारको एकदमै समस्या भइरहेको थियो । स्थानीयस्तरमै कच्चा सामग्री उत्पादन भएको खण्डमा हामी ढाका व्यावसायीलाई राहत हुन्थ्यो भन्ने आशा छ”, उनले भने ।

जिल्लामा उत्पादित ढाका कपडा स्वदेशसहित विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि स्थानीयस्तरका उद्योग र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा व्यवसायीले राम्रो आम्दानी लिन सकिरहेका थिएनन् । जिल्लामा साडी, चोली, दौरा सुरुवाल, कोट, मेख्ली, टाई, मख्लर, कुर्ता, सुरुवाललगायत ढाकाका सामग्री उत्पादन हुँदै आएका छन् ।

तेह्रथुमबाट वार्षिक करिब रु पाँच करोड मूल्य बराबरको ढाका कपडा निर्यात हुने गरेको सरकारी निकायहरूको तथ्याङ्क छ । हङ्कङ, बेलायत, सिङ्गापुर, भारत, ब्रुनाइलगायत मुलुकमा यहाँ उत्पादित ढाका निर्यात भएको पाइन्छ । ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको भए पनि ढाका उत्पादनको प्रवद्र्धनमा प्रभावकारी कार्य हुनसकेको थिएन । राजधानी घोषणापछि ढाकाको उत्पादन तथा बजारीकरणमा सबैको ध्यान पुग्ने जिल्लावासीको विश्वास छ ।

ढाकाबाट यहाँका हजारौँ महिलाले रोजगारी पाएका छन् । जिल्लामा ढाकाका सामग्री उत्पादन गर्ने कार्यले उद्योगको रूप ग्रहण गर्न थालेको छ । हातले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय मानिन्छन् ।

मेसिन प्रयोग नगरी हातले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अन्यत्रको तुलनामा केही बढी रहेको भए पनि ती सामग्री टिकाउ र गुणस्तरीय रहेको ढाका उत्पादकहरूको दाबी छ । राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरूले एक दशकदेखि नै ‘ह्याण्डी क्याप’ शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हासिल गरिरहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस !