प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव मंसिर २ गते एकै चरणमा गर्न आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव मंसिर २ गते शुक्रबार एकै चरणमा गर्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया तथा अन्य आयुक्तहरूले भेटेर चुनावको मिति प्रस्ताव गरेका हुन् ।
निर्वाचन आयोग ऐन,२०७३ तथा निर्वाचन सम्बन्धी कानुनले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मिति आयोगको प्ररामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल तथा धारा १७७ ले प्रदेश सभाको कार्यकाल अगावै विघटन भएको बाहेक ५ वर्षको हुने उल्लेख छ ।
२०७४ सालमा निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि आउँदो मंसिर २२ गते पुरा हुने निष्कर्ष निकाल्दै त्यो भन्दा पहिले नै निर्वाचन गर्न सुझाव दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








