कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पीताम्बर जोशी विजयी
काठमाडौं । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पीताम्बर जोशी विजयी भएका छन् ।
संघको १७औँ कार्यकारणी समिति चयनका लागि भएको निर्वाचनमा जोशी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई ५ सय ५८ मतको अन्तरले पराजित गरे ।
अध्यक्षका उम्मेद्वार पीताम्बर जोशीले १ हजार २ सय ९९ र गणेशदत्त जोशीले ७ सय ८३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले जानकारी दिए । अध्यक्षमा निर्वाचित जोशी संघको अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष जिए । पराजित भएका जोशी यसअघि अध्यक्ष भइसकेका थिए । यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वी वासुदेव जोशीलाई २ सय ७० मतको अन्तर पराजित गर्दै विजयी भएका छन् ।
महासचिवमा खगेश्वरप्रसाद बोहरा निर्वाचित भएका छन् । कार्यसमितिमा अध्यक्ष पीताम्बर प्यानलकै तीनैजना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।
वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भएका थिए भने संस्थापक सदस्यतर्फ नेपाल औषधि व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुढा निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि अध्यक्ष जोशीले सबैलाई सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्,“निजी क्षेत्रको अग्रणी संस्थाको गरिमालाई ख्याल गरि आगामी दिनमा हजुरहरु सबैको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिज्ञा गर्दछु ।”








