६ जेष्ठ २०८१, आइतबार

श्वेत गंगा हाइड्रोपावर साउन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने

प्रकाशित मिति :  11 July, 2022 12:39 pm


काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणको लागि सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा साउन ८ गतेसम्म ढीलोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्ग नेपालले आईपीओ कम्पनीको आईपीओलाई केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।



प्रतिक्रिया दिनुहोस !