महालेखाले भन्यो : धितोपत्र बोर्डको नियमन प्रभावकारी देखिएन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्था, नेप्से, सीडीएससी र क्रेडिट रेटिङ एजेन्सीको हालसम्म स्थलगत सुपरिवेक्षण गरेको छैन । महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार धितोपत्र बोर्डको अनुगमन, नियमन सुपरिवेक्षण प्रभावकारी नदेखिएको बताएकाे छ।
प्रतिवेदनका अनुसार धितोपत्र बजार तथा दलालहरूको अनलाइन रियल टाईम निगरानीको हकमा धितोपत्र बजारले उपलब्ध गराएको सीमित र नियन्त्रित पहुँचका आधारमा कार्य हुने गरेको र बोर्डले प्रभावकारी अनुगमन तथा पर्याप्त सूचना प्राप्त गर्न नसकेको उल्लेख गरेको छ ।
त्यस्तै वस्तु विनिमय बजार नियमावली, २०७४ को नियम ५ अनुसार पूर्व स्वीकृतिका लागि २०७६ असारमा ६ निवेदकले पेस गरेको निवेदन स्वीकृति सम्बन्धमा २०७८ चैत्र सम्म निर्णय हुन नसकेको महालेखाले जनाएको छ ।
। नेप्सेको अनलाइन व्यापार प्रणालीमा देखिएको समस्या र सो प्रणालीमा बजार सहभागीहरूले गर्न सक्ने अस्वस्थ्य अभ्यास, अनधिकृत क्रियाकलाप तथा थपघट बारेमा बोर्डले शीघ्र सूचना पाउन र नियन्त्रण गर्न नसकेको उल्लेख गरेको छ ।
सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन तथा ऋणपत्रको निष्काशन गरेपश्चात् पेस गर्नुपर्ने पुँजी उपयोगिताको प्रतिवेदन पेस नगरेको भन्दै महालेखाले मर्चेन्ट बैङ्क, सूचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारको सेवा शुल्क, विवरण, प्रतिवेदनहरू समयमै प्राप्त गरी प्रभावकारी नियमन र अनुगमन गर्न निर्देशन दिएको छ ।
धितोपत्र बोर्डले धितोपत्र बजार धितोपत्र व्यवसायी तथा धितोपत्र दलालहरुको कार्य उपर निगरानी, नियमन तथा अनुगमन, सुपरिवेक्षण र कार्यान्वयन धितोपत्र ऐन, २०६३ को परिच्छेद ८ अनुसार धितोपत्र बजार, धितोपत्र व्यवसायी तथा धितोपत्र दलालहरूको कार्य उपर बोर्डले नियमित रूपमा प्रभावकारी ढङ्गबाट नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ गर्नुपर्ने व्यवस्था छ ।








