१४ बैशाख २०८१, शुक्रबार

महिला कर्मचारीहरुद्वारा संचालित नयाँ एनसेल सेन्टर सञ्चालनमा

प्रकाशित मिति :  14 July, 2022 5:56 pm


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले जनाएको छ । एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानका रुपमा कम्पनीले लिएको जनाएकाे छ ।

सम्पूर्णरुपमा महिला कर्मचारीहरुबाट संचालित एनसेल सेन्टर संचालनमा ल्याइएको बारे जानकारी दिदैँ एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, “काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।”

एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन्, “यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरुको सहभागिता रहने गर्दथ्यो । विगत ३–४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिपेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।”

महिला कर्मचारीहरुद्वारा संचालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ। यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !