स्याङ्जाको छायाँक्षेत्र मन्दिरमा बिहानैदेखि भक्तजनहरुको चहलपहल
स्याङ्जा । साउन महिनाको पहिलो सोमबार स्याङ्जा भीरकोट नगरपालिकाको प्रसिद्ध छायाँक्षेत्र शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अघिल्ला वर्षहरुमा भन्दा यसवर्षको साउनमा भक्तजनहरुको भीडभाड बढी भएको र भीडभाड व्यवस्थापनको लागि प्रहरी, स्वंयसेवक खटाएको बताएका छन् । बिहानैदेखि भक्तजनहरुको भीड बढी भएकाले फरक क्षमता भएका व्यक्तिहरुलाई प्रथामिकता दिएको श्रेष्ठले बताए ।
श्रेष्ठले भने, “अहिलेसम्म करिब ५ हजार भक्तजनहरुले मन्दिर दर्शन गरेर गइसके । बेलुकासम्म १२ हजार भक्तजनहरु आउने सम्भावना रहेको छ । मन्दिरमा भक्तजनहरुलाई मनोरञनको लागि भजन कीर्तनको व्यवस्था गरेको छाैँ।’’
छायाँक्षेत्र मन्दिरमा शिवरात्रि, हरितालिका तिज, साउने सोमबार जस्ता चाडपर्वहरुमा भक्तजनहरुको भीडभाड हुदैँ आएको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्षकाे साउन महिनामा पाँच सोमबार परेका छन् ।








