१८ बैशाख २०८१, मंगलबार

दूध, माछामासु र अण्डाको उत्पादन बढ्यो

प्रकाशित मिति :  18 July, 2022 2:13 pm


काठमाडौं । अघिल्लो आर्थिक वर्षमा दूध, अण्डा र माछाको उत्पादन बढेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत अर्थिक वर्षका अर्धवार्षिक समिक्षा प्रतिवेदनमा दूध, माछामासु र अण्डाको उत्पादन समग्र रुपमा बढेको उल्लेख छ ।

आर्थिक वर्ष ०७८/७९ पहिलो छ महिनामा दूधको उत्पादन ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दूधको उत्पादन २.६ प्रतिशतले बढेको थियो । दूध उत्पादन बागमती प्रदेशमा सबैभन्दा बढी (२१.० प्रतिशत) भएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम (४.४ प्रतिशत) उत्पादन भएको छ ।

समीक्षा अवधिमा माछाको उत्पादन ४.३ प्रतिशतले बढेकोछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा माछाको उत्पादन १.१ प्रतिशतले बढेको थियो । माछा उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा सबैभन्दा बढी (२९.३ प्रतिशत) रहेको छ भने कर्णाली प्रदेशमा माछाको उत्पादन नगन्य रहेको छ ।

समीक्षा अवधिमा मासुको उत्पादन ५.१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मासुको उत्पादन ४.६ प्रतिशतले बढेको थियो । मासु उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा सबैभन्दा बढी (२१.७ प्रतिशत) र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (९.८ प्रतिशत) रहेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा अण्डा उत्पादन ७.५ प्रतिशत र उन उत्पादन ६.९ प्रतिशतले बढेकोछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अण्डाको उत्पादन १.७ प्रतिशत र उन उत्पादन ७.४ प्रतिशतले घटेको थियो। अण्डा उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी (३४.६ प्रतिशत) र मधेश प्रदेशको हिस्सा सबैभन्दा कम (५.४ प्रतिशत) रहेको छ ।



प्रतिक्रिया दिनुहोस !