काठमाडाैं उपत्यकामा एक वर्षमा सवारी कारवाहीबापत ३३ करोड बढी राजस्व संकलन
काठमाडौं । अघिल्लाे आर्थिक वर्षमा सवारी साधन कारवाहीबापत ३३ करोड १३ लाख ६८ हजार २१८ रुपियाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले जानकारी दिइन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको जानकारी दिइन् ।
ट्राफिकले नियम विपरीत लेन अनुशासन मिच्ने १३ हजार ८९३ मापसेबाट ३३ हजार ५९०, तीव्र गतीबाट १८ हजार ४१७ र रातो बत्तीबाट १८ हजार ९९४ सवारी कारवाहीमा परेका छन् । ट्राफिक व्यवस्थापनका लागी उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको छ ।
गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १० ठाउँमा किअस्क मेशिन जडान गरिएको छ ।
३ सय २६ ठाउँमा अस्थायी ड्युटीमा प्रहरी परिचालन गरिएको छ । एकजना ट्राफिक प्रहरीले दैनिक १० घण्टा ड्युटी गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।








